Saturday, February 7, 2009

एसीसी यू-१७ एलाइट कप: नेपाल र हङकङ भिड्ने

शरदप्रकाश धिताल

काठमाडौं, माघ २४ - सेमिफाइनल यात्रा सहज बनाउन नेपालले एसीसी यू-१७ एलाइट कपमा शनिबार जित यात्रा तय गर्नुपर्नेछ । पहिलो खेलमा १ सय ४ रनले कतारलाई पराजित गरेको नेपालले समूह 'ए' को लिगचरणअन्तर्गत दोस्रो खेलमा हङकङको सामना गर्दै छ । तर सेमिफाइनल प्रवेशका लागि हङकङलाई जित आवश्यक छ ।
दुवै अपरिचित प्रतिद्वन्द्वी भने होइनन् । यू-१७ भिडन्त पहिलो भए पनि नेपाल र हङकङ काठमाडौंमा भएको यू-१५ मा भिडेका थिए । त्यसमा नेपाल १ सय ५४ रनले विजयी भएको थियो । त्यसबेलाका आठ खेलाडी वर्तमान नेपाली टिममा छन् ।
'सेमिफाइनलमा सुरक्षित रहन पनि जित आवश्यक छ,' नेपाली प्रशिक्षक रोय डायस भन्छन् । 'पहिलो जितलाई अन्तिमसम्म कायम राख्न चाहन्छौं,' उनले भने । दोस्रो खेलमा ब्याटिङ सुधि्रने उनको विश्वास थियो । 'हङकङलाई कमजोर आँक्नु हँुदैन,' भक्तपुर मैदान नेपाली टिमका लागि नयाँ भएको डायसले बताए । हङकङका प्रशिक्षक शेरबहादुर लामाले दोस्रो खेलमा हार बेहोरेका कारण जित्नुपर्ने बाध्यता रहेको विचार राखे । 'सेमिफाइनल प्रवेशका लागि नेपालविरुद्ध 'गर या मर' को स्थितिमा उत्रनेछौं,' हङकङ टिमका नेपाली प्रशिक्षक लामाले भने । 'नेपालविरुद्धको खेल सधैं विशेष हुने गर्छ,' लामाले भने, 'नेपालसँग हारेमा हामी अरू टिमको नतिजामा भर पर्न बाध्य हुनेछौं ।' उमेर समूहमा नेपाल र हङकङको स्तर उस्तै रहेकाले जसले राम्रो खेल्छ, उसले जित्ने विचार उनको थियो । दोस्रो खेलको अन्तिम बलमा कतारसँग पराजित हुनु दुर्भाग्यपूर्ण रहेको र त्यसले थप दबाबमा रहेको उनको भनाइ थियो । 'हङकङको ब्याटिङ राम्रै छ, केही सुरुआती ब्याट्सम्यान चल्नुपर्छ,' उनको भनाइ थियो । 'नेपालविरुद्ध २ सयभन्दा बढी रन बनाउनुपर्ने वा उसलाई त्यसभन्दा कम स्कोरमा रोक्नुपर्छ,' लामाले भने ।

समूहमा एक खेल कम खेलेको नेपाल नेट रनरेटका आधारमा पहिलो स्थानमा छ भने एक खेलमा जित तथा अर्कोमा हार बेहोरेको हङकङ दोस्रो स्थानमा र कतार तेस्रो स्थानमा छ । तीनवटै टिमको समान २/२ अंक छ । एक खेलमात्र खेलेको सिंगापुर अंकविहीन चौथो स्थानमा छ । कतारले शनिबार पुल्चोक मैदानमा सिंगापुरको सामना गर्दैछ । उसले हङकङमाथि एक विकेटको रोमाञ्चक जित हात पार्दै सेमिफाइनल सम्भावना कायम राखेको थियो ।

आजका खेलहरू

यूएईविरुद्ध मलेसिया- कीर्तिपुर मैदान
सिंगापुरविरुद्ध कतार- पुल्चोक मैदान
नेपालविरुद्ध हङकङ- भक्तपुर मैदान

साभारः कान्तिपुर दैनिक

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home