Friday, February 6, 2009

मलेसिया र कतारको जित

काठमाडौं, माघ २३ - पभिथरन नादाइसानले उत्कृष्ट पाँच विकेट लिएपछि एसीसी यू-१७ एलाइट कपमा बिहीबार मलेसियाले कुवेतमाथि सात विकेटको जित दर्ता गर्‍यो ।
समूह 'बी' को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत मलेसियाली कसिलो बलिङ आक्रमणसामु टिक्न सकेन । वीरेन्द्र सैनिक मैदान, भक्तपुरमा भएको खेलमा कुवेती टिम २३ ओभरमा ६३ रनको झीनो स्कोरमा समेटियो । उसलाई सस्तोमा समेट्न निशाधेनले ७ ओभर बलिङ गर्दै तीन मेडनसाथ १४ रन खर्चे ।

कुवेतका लागि खालिद लियाकतले अविजित १२ तथा उस्मान घानीले १० रन जोडे ।

जवाफमा मलेसियाका जुवेर नाजमीले ३१ रनको योगदान दिए । यसै समूहको अर्को खेलमा यूएईले बहराइनमाथि ७३ रनको जित हात पार्‍यो ।

पहिले ब्याटिङ गरेको यूएईले ब्यंटा कृष्णन भार्गवको ९५ तथा रिउविन जाई अब्राहमको अर्धशतक मदतले ६ विकेट क्षतिमा २ सय २३ रन बनायो । जवाफमा बहराइन ३३ ओभर १ बलमा १ सय ५० रनमा अलआउट भयो ।

पुल्चोक मैदानमा यूएईका भार्गवले ९९ बलमा १२ चौका र एक छक्का प्रहार गरेका थिए । उनी समीरको बलमा सरदीप सिंहको हातबाट समातिए । त्यस्तै ५० रन बनाएका अब्राहम माज जाफरको बलमा बोल्ड भए ।

पहिलो खेलमा जित हात पारेको बहराइनको सुरुआत राम्रो हुन सकेन । टिमको १६ रन हुँदा दुई विकेट गुमाएको बहराइनका समीर युसुफले ५५ रनको योगदान दिए भने सामुएल भिगासले ३९ रन बनाए । यूएईका महम्मुद सलार बाकिरले चार विकेट लिए ।

समूह 'बी' मा एक-एक खेलमा जित हात पारेका मलेसिया र यूएई पहिलो र दोस्राे स्थानमा छन् । एकमा जित र अर्कोमा हार बेहोरेको बहराइन तेस्रो तथा दुवै खेलमा हार बेहोरेको कुवेत अन्तिममा छ ।

समूह 'ए' को खेलमा कतारले हङकङमाथि एक विकेटको रोमाञ्चक जित हात पार्‍यो ।

त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । प्रत्युत्तरमा कतारले ९ विकेट क्षतिमा १ सय ७७ रन बनायो ।

नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कतारका कप्तान तमुर साजादले आफ्नो प्रदर्शन दोहोर्‍याए ।

नेपालविरुद्ध ७२ रनको आकर्षक इनिङ खेलेका साजादले हङकङविरुद्ध पनि ७२ रन बनाए । समूहमा एक खेल खेलेको नेपाल अग्रस्थानमा छ भने हङकङ दोस्रो, कतार तेस्रो र सिंगापुर अन्तिममा छन् ।


साभारः कान्तिपुर अनलाइन

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home