Wednesday, February 27, 2008

नेपाल प्लेट फाइनलमा प्रवेश ::: साभार नेपाल समाचारपत्र

(काठमाडौं)
कप्तान पारस खड्काले नेतृत्वदायी भूमिका निभाएपछि नेपाल आइसीसी यु-१९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा चलिरहेको प्रतियोगिताको मंगलबार भएको प्लेट सेमिफाइनलमा नेपालले नामिबियालाई ४ रनले पराजित गरेको थियो। समूहचरणको खेलमा पनि नेपालले नामिबियासँगको रोमाञ्चक खेल ३ रनले जितेको थियो। नेपाल प्लेट फाइनलमा प्रवेश गरेको यो तेस्रो अवसर हो। सन् २००२ मा न्युजिल्यान्डमा भएको प्रतियोगिताको प्लेट फाइनलमा जिम्बावेसँग १ सय ३७ रनले पराजित भएको नेपालले दुई वर्षघि श्रीलंकामा उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो।जोहोर क्रिकेट एकेडेमी ओभल मैदानमा वर्षाका कारण ३४ ओभरमा छोट्टयाएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाई १ सय ४३ रन बनाएको थियो।नेपालका लागि पारसले सर्वाधिक ४४ रन बनाए। लगातार दोस्रो खेलमा म्यान अफ द म्याचमा चुनिएका पारसले ६३ बलको सामना गरी ३ चौका प्रहार गरेका थिए। महेश क्षत्री (९) र फर्ममा नरहेका ज्ञानेन्द्र मल्ल (१) सस्तैमा आउट भएपछि पारसले ओपनर अनिल मण्डलसँग तेस्रो विकेटका लागि ४८ रन जोडेका थिए। अनिलले ५४ बलमा दुई चौकाको मद्दतले २३ रन बनाए।त्यसपछि आकाश गुप्ताले ९ बलमा २ चौकाको मद्दतले ११ र अन्तिम ओभरमा आउट भएका रोम श्रेष्ठले २२ बलमा एक छक्काको मद्दतले १८ रन बनाए। सागर खड्का ६ बलमा एक चौकाको मद्दतले ७ र राज श्रेष्ठ एक रन बनाई अविजित रहे।जबाफमा नामिबियाले ९ विकेट गुमाई १ सय ३९ रन मात्र बनाउन सक्यो। ८ बलमा १२ रन बनाउनुपर्ने अवस्थामा पारसले रेमन्ड भान सुरलाई तीन बल बाँकी रहेको अवस्थामा आउट गरेका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्दै सुरले ७३ बलको सामना गरी दुई चौकाको मद्दतले ४८ रन बनाए।जीएसजे कोइट्जीले ४ बलमा अविजित ९ रन बनाए पनि पारसले अन्तिम ओभर आफैं बलिङ गरी नेपाललाई उपाधितर्फ डोर्याएका थिए। सुरले कप्तान लुइस भान डेर बेस्थुइजेनसँग तेस्रो विकेटका लागि ५१ रन जोडेका थिए। ३३ रन बनाएका बेस्थुइजेनलाई अफ स्पिनर सागर खड्काले आउट गरी यो साझेदारी तोडेका थिए। पारस, राज र राहुलकुमार विश्वकर्माले २/२ विकेट लिए। पारसले ७ ओभरमा एक मेडन राख्दै २९ रन, राजले ६ ओभरमा एक मेडन राख्दै २३ रन र राहुलले ७ ओभरमा ३३ रन खर्चेका थिए। अमृत भट्टराई र सागरले १/१ विकेट लिए। प्रतियोगितामा पारसले १२, राजले १० तथा राहुल र अमृतले ९/९ विकेट लिइसकेका छन्। खेलपछि नेपाली टोलीका प्रशिक्षक रोय डायसले आफ्ना कप्तानको खुलेर प्रशंसा गरेका छन्। ँपारसको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु, जसरी अन्तिम समयको दबाबमा उनले बलरहरूलाई प्रयोग गरेका छन्, त्यो उदाहरणीय छ’ -श्रीलंकाली प्रशिक्षक डायसले नेपाल क्रिकेट डट कमलाई बताए। आज हुने वेस्ट इन्डिज र पपुवा न्युगिनीबीचको विजेता शनिबार नेपालसँग फाइनल खेल्नेछ।पारस म्यान अफ द सिरिजको दौडमानेपालका कप्तान पारस खड्का आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडीको दौडमा उभिएका छन्। जिम्बावेलाई प्लेटको क्वार्टरफाइनलमा पराजित गर्दा पनि म्यान अफ द म्याचमा चुनिएका पारसले म्यान अफ द सिरिजका लागि कुल ८ अंक बटुलिसकेका छन्। न्युजिल्यान्डका टी साउथीभन्दा पारस एक अंकले मात्र पछाडि छन्। प्रत्येक खेलको म्यान अफ द म्याच पाउनेले ३, दोस्रो उत्कृष्टले दुई र तेस्रो उत्कृष्टले एक अंक पाउने प्रावधानअनुरूप पारसले आठ अंक बटुलेका छन्। न्युजिल्यान्डले भारतसँग खेल्ने सुपर लिगको सेमिफाइनलसहित अर्को एक खेलमा पनि साउथीले कुनै चमत्कार देखाउन नसकेको खण्डमा तथा पारसले प्लेट फाइनलमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई दोहोर्याएमा पारस नै म्यान अफ द सिरिजमा चुनिनेछन्। गत वर्ष नेपाललाई मलेसियामा एसीसी यु-१९ इलाइट कपको उपाधि दिलाउँदै विश्वकपसम्म डोर्याउने क्रममा पनि पारस म्यान अफ द सिरिजमा चुनिएका थिए।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home