Monday, February 25, 2008

बदला लिँदै नेपाल सेमिफाइनलमा ::: साभार न्युज अफ नेपाल

जिम्बावेसँग मीठो बदला लिँदै नेपाल आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्लेट च्याम्पियनसिपतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा चलिरहेको प्रतियोगितामा नेपालले आइतबार जिम्बावेलाई ९९ रनले पराजित गरेको हो। प्लेटको फाइनलमा प्रवेश पाउन नेपालले मंगलबार हुने खेलमा नामिबियालाई पराजित गर्नुपर्नेछ। नामिबियाले आयोजक मलेसियालाई सजिलै नौ विकेटले पराजित गरेको थियो। समूहचरणको अन्तिम खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको थियो। हाल टेस्ट क्रिकेट स्थगन गरिरहेको जिम्बावे यु-१९ विश्वकपमा नेपालको सिकार हुने पछिल्लो राष्ट्र भएको छ। पछिल्ला चार यु-१९ विश्वकपमा सहभागिता जनाउने क्रममा नेपालले दक्षिण अफ्रिकालाई दुई तथा पाकिस्तान, बंगलादेश र न्युजिल्यान्डलाई १/१ पटक पराजित गरिसकेको थियो। तर नेपाल यु-१९ विश्वकपमा दुई पटक पराजित भएको थियो। सन् २००२ को प्लेट फाइनलमा १ सय ३७ रनले र दुई वर्षअघि श्रीलंकामा भएको पछिल्लो संस्करणको समूहचरणको खेलमा नेपाललाई जिम्बावेले दुई रनले पराजित गरेको थियो। यस पटकको विश्वकप शुरू हुनुअगाडि पनि अभ्यास खेलमा जिम्बावेसँग ३ विकेटले पराजित भएको बदला नेपालले लिएको छ। जोहोरबारुस्थित इन्स्टिच्युट पेर्गुरुएन टेमेङगोङ इब्राहिम मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालको इनिङ ४५.१ ओभरमा १ सय ५८ रनमा समेटिएको थियो। ७९ रन बनाउने क्रममा ७ विकेट गुमाइसकेको नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका पुष्प थापाले सर्वाधिक ४० रन बनाए। ४९ बलको सामना गरी तीन चौका र एक छक्का प्रहार गरका पुष्पले राज श्रेष्ठसँग आठौं विकेटका लागि ५३ रन जोडेका थिए। राजले ७१ बलको सामना गर्दै तीन चौकाको मद्दतले १९ रन बनाए। यसअघि ओपनर महेश क्षत्री (१६) र कप्तान पारस खड्का (२०) बाहेक अन्य कसैले पनि दोहोरो स्कोर बनाउन नसक्दा नेपालले ब्याटिङमा पुनः निराश पारेको थियो। जिम्बावेले अतिरिक्तमा दिएको ४० रन नेपालका लागि वरदान नै साबित भयो। तर पारस र अमृतले आफ्नो ओपनिङ स्पेलमा ३/३ विकेट लिएपछि २४ रन बनाउँदासम्म ६ विकेट गुमाइसकेको जिम्बावे २७.२ ओभरमा ५९ रन समेटिएको थियो। जिम्बावेका लागि विकेटकिपर ब्याट्सम्यान टी चिमबाम्बोले २० र एएफ मिरेले अविजित १६ रन बनाए।पारसले ७ ओभरमा २ मेडन राख्दै १३ र अमृतले ८ ओभरमा १४ रन खर्चेर ३/३ विकेट लिए। त्यस्तै पहिलो परिवर्तनको रूपमा आएका राजले ६.२ ओभरमा एक मेडन राख्दै १६ रन खर्चेर तीन विकेट लिए। राहुलकुमार विश्वकर्माले चिमबाम्बोलाई आउट गरेका थिए। ब्याटिङमा ३३ बलको इनिङमा एक चौका र एक छक्का प्रहार गरेका पारस म्यान अफ द म्याचमा चुनिए।महेश र पारस अगाडिनेपालका विकेटकिपर महेश क्षत्री प्रतियोगितामा सर्वाधिक आउट गर्ने खेलाडीमा अग्रस्थानमा रहेका छन्। आइतबारको खेलसमाप्तिपश्चात् महेशले कुल १३ सिकार बनाइसकेका छन्। जिम्बावेविरुद्धको खेलमा उनले तीन क्याच र दुई स्टम्पिङ गरी पाँच सिकार बनाइसकेका छन्। प्रतियोगिताभरि उनले ५ क्याच र ८ स्टम्पिङ गरिसकेका हुन्। त्यस्तै कप्तान पारस खड्का सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा उक्लिएका छन्। यस प्रतियोगितामा उनले १० विकेट लिइसकेका छन्। अघिल्लो वर्ष नेपाललाई मलेसियामै एसीसी यु-१९ इलाइट कपको उपाधि दिलाउने क्रममा म्यान अफ द सिरिज घोषित पारसले ३४.३ ओभरमा १ सय ७ रन खर्चेर १०.७ को औसतमा कुल १० विकेट लिएका छन्। अस्ट्रेलियाविरुद्ध समूहचरणको खेलमा ३२ रन खर्चेर ४ विकेट लिई यस विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेका पारसअघि दक्षिण अफ्रिकाका बायने पारेनेल मात्र रहेका छन्। उनले १४ विकेट लिइसकेका छन्। ८/८ विकेट लिएका अमृत भट्टराई र राज श्रेष्ठ सर्वाधिक विकेट लिने सूचीमा १०औं र ११औं तथा राहुलकुमार विश्वकर्मा सात विकेटका साथ १७औं स्थानमा छन्।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home