Sunday, March 2, 2008

नेपाल उपविजेतामै सीमित ::: साभार नेपाल समाचारपत्र,

नेपाल समाचारपत्र, (काठमाडौं)।नेपाल आईसीसी यु-१९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिपमा उपविजेतामै सीमित भएको छ। मलेसियामा शनिबार भएको फाइनलमा टेस्ट खेल्ने राष्ट्र वेस्ट इन्डिजले नेपाललाई सजिलै सात विकेटले पराजित गर्यो। क्वालालम्पुरस्थित वायुमास ओवल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल केवल ७४ रनमा सीमित भयो। निरन्तर वर्षाका कारण २७ ओभरमा छोट्टयाइएको खेलमा नेपालले केवल २५.३ ओभर मात्र खेल्न सक्यो। यु-१९ विश्वकपमा ३२ खेल खेल्ने क्रममा नेपालले सबैभन्दा न्यून स्कोर बनाएपछि दोस्रो पटक प्लेटको उपविजेतामा नै चित्त बुझाउनुपर्यो। डिफेन्डिङ च्याम्पियन नेपाल सन् २००० मा न्युजिल्यान्डमा भएको संस्करणमा पनि जिम्बावेसँग एकतर्फी खेलमा १ सय ३७ रनले पराजित भएको थियो। सन् २००० मा श्रीलंकामा भएको प्रतियोगितामा आयोजकसँग सुपरलिगको खेलमा ८९ रन मात्र बनाउन सक्नु यु-१९ विश्वकपमा नेपालको यसअघिको न्यून स्कोर थियो।शुरूआतमै ४ विकेट झर्दा आफ्नो टोली एकतर्फी खेलमा पराजित भएको नेपालका श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाल क्रिकेट डट कमलाई बताए। यता टस जितेर पहिला ब्याटिङ गर्ने नेपालको निर्णयबाट आफू अचम्मित भएको वेस्ट इन्डिजका पूर्वअलराउन्डर एवम् प्रशिक्षक लारी गोम्सले बताए। नेपालले प्रतियोगितामा १०औं वरीयता पाएको छ। जुन हाल टेस्ट क्रिकेट स्थगन गरिरहेको जिम्बावेभन्दा माथि हो। सन् २००४ मा बंगलादेशमा दोस्रो वरीयतामा रहेको वेस्ट इन्डिज नवौं स्थानमा रह्यो।प्रतियोगिताको अघिल्ला खेलहरूमा झैं नेपालले पहिला ब्याटिङ गर्दा निकै कमजोर शुरूआत गरेको थियो। प्रतियोगितामा नेपालका लागि सर्वाधिक १ सय २७ रन बनाउने महेश क्षत्री इनिङको तेस्रो बलमै जेओ डावेसको बलमा बोल्ड भई डक आउट हुन पुगे। डावेसले चार विकेट लिँदै नेपालको इनिङलाई तहसनहस पारेका थिए। ६ ओभरमा एक मेडन राख्दै १८ रन खर्चेका डावेस नै म्यान अफ द म्याचमा चुनिए। प्रतियोगिताको ६ खेलमा केवल ३१ रन बनाएका ज्ञानेन्द्र मल्ललाई पनि डावेसले नै आउट गरेका थिए। प्रायः तेस्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्रले शनिबार ओपनिङमा आई ६ रन बनाएका थिए। ओपनरबाट तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल मण्डल एक रन बनाई डीई जोहनसनको बलमा विकेटकिपर डीसी थोमसद्वारा क्याचआउट भए। थोमसले नेपाली इनिङमा कुल पाँच क्याच लिए। कप्तान पारस खड्का र सागर खड्काले मात्र दोहोरो स्कोर बनाए। पारसले २३ बलको सामना गरी दुई चौकाको मद्दतले १२ रन बनाई आउट हुँदा सागर १७ रनमा अविजित रहे। उनले ५५ बलको सामना गर्दै एक चौका प्रहार गरे। नेपालले अतिरिक्तमा सबैभन्दा बढी १८ रन जोडेको थियो।वेस्ट इन्डिजले ७६ बलअगावै तीन विकेट गुमाई खेल आफ्नो पक्षमा पारेको थियो। राहुलकुमार विश्वकर्मालाई बाउन्ड्री प्रहार गर्दै विजयी रन बटुलेका डीएम ब्राभो २४ रनमा अविजित रहे। उनले १५ बलको सामना गरी तीन चौका र एक छक्का प्रहार गरे।२४ रन बनाएका केओए पोवेललाई अमृत भट्टराईले आउट गरे। केएएम कोरबिनलाई ५ रनमा बोल्ड गरी अमृतले प्रतियोगितामा आफ्नो विकेट संख्या ११ पुर्याए। नेपालका लागि पारसले सर्वाधिक १२ विकेट लिए भने राहुल र राज श्रेष्ठले पनि १०/१० विकेट लिए। नेपाली टोली आजै काठमाडौं र्फर्किने कार्यक्रम रहेको छ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home