Wednesday, February 4, 2009

एसीसी यू-१७ एलाइट कप: नेपाल ऐतिहासिक सफलताको संघारमा

शरदप्रकाश धिताल
काठमाडौं, माघ २१ - नेपाल उमेर समूहका सबै एसीसी स्तरीय क्रिकेट प्रतियोगिता जित्ने ऐतिहासिक उपलब्धिनजिक छ । बुधबारबाट काठमाडौंमा सुरु हुने एसीसी यू-१७ क्रिकेटको उपाधि चुमे नेपालले उमेर समूहका सबै प्रतियोगिता जितेर सफलताको अनुपम झन्डा गाड्नेछ । एसीसीको आयोजनामा यू-१७ स्तरमा अन्तिमपटक प्रतियोगिता हुँदैछ । उमेर समूहका एसीसी यू-१५ र १९ मा जित हात पारेको नेपाल यू-१७ मा भने दुर्भाग्यशाली रहेको छ । उसले कुनै पनि संस्करणमा उपाधि जित्न सकेको छैन । सन् २००५ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुगेको थियो ।

तर इन्डोनेसियाको जंगलमा लागेको आगोको धूवाँका कारण प्रतियोगिता बीचैमा रोकियो । नेपालले यस उमेर समूहमा चारपटक सहभागिता जनाएको छ । पहिलोपटक सन् २००० मा पाकिस्तामा भएको आईसीसी यू-१७ एसिया कपमा नेपालले पहिलो खेलमा कुवेतसँग हार बेहोरेको थियो । नेपालले यसबाहेक बंगलादेशमा भएको एसीसी यू-१७ एसिया कप, सन् २००४ मा भारतमा भएको एसीसी कप फर यू-१७ मा सहभागिता जनाएको छ । नेपालले अहिलेसम्म खेलेका १७ खेलमध्ये आठमा जित र आठमा हार बेहोरेको छ । एउटा खेलको नतिजा निस्केन ।

नेपाल टेस्ट खेल्ने राष्ट्रविरुद्धका छ खेलमध्ये सबैमा पराजित रहेको छ । नेपाल पाकिस्तानविरुद्ध ३, बंगलादेशविरुद्ध २ र भारतसँग एक खेल हारेको छ । टेस्ट नखेल्ने अफगानिस्तानसँग पनि हारेको छ । जित लक्ष्य सम्भवतः उमेर समूहमा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमको जिम्मेवारी लिइरहेका प्रशिक्षक रोय डायस सुखद अन्त्य चाहन्छन् । यू-१७ मा नेपालको पराजयको क्रम टार्ने यो सबैभन्दा सुनौलो मौका छ । टेस्ट नखेल्ने राष्ट्रमात्र सहभागी प्रतियोगितामा नेपालले सबैभन्दा बलियो चुनौती पेस गर्न सक्छ ।

'हामी जितका लागि उत्रने छौं,' प्रशिक्षक रोय डायसले भने । उनले मलेसिया सबैभन्दा बलियो प्रतिद्वन्द्वी भएको बताए । नेपालको बलिङ र फिल्डिङ बलियो भएको उनको भनाइ थियो । 'अरू उमेर समूहभन्दा ब्याटिङ बलियो भए पनि नयाँ खेलाडीमा 'बिग सट' खेल्ने समस्या छ,' उनले भने ।

धेरै खेलाडीमा अन्तर्राष्ट्रिय अनुभव र करिब डेढ महिना प्रशिक्षणमा रहनु सुखद पक्ष रहेको उनले बताए । नेपाली खेलाडीमा चोटको सामान्य समस्या रहेको र आवश्यक परे प्रदीप ऐरीलाई बलिङ गराउन सक्ने उनले जानकारी दिए ।

प्रदीप यू-१७ राष्ट्रिय प्रतियोगितामा नेपालगन्जविरुद्ध खेलमा घाइते भएका थिए । नेपालले पहिलो खेल बुधबार कतारविरुद्ध खेल्दैछ । कतार यू-१७ मा नेपालको नयाँ प्रतिद्वन्द्वी हो ।

तयारी पूरा

नेपाल क्रिकेट संघ -क्यान) ले मंगलबार पत्रकार सम्मेलन गरी एसीसी यू-१७ को तयारी पूरा भएको जानकारी दिएको छ । क्यान अध्यक्ष विनयराज पाण्डेले प्रतियोगिताका लागि एसियाली क्रिकेट परिषद्बाट ८७ लाख प्राप्त भएको बताए ।

उनले यसैबाट खेलाडीको यातायात, होटल तथा सबै व्यवस्थापन खर्च बेहोर्ने जानकारी दिए । 'यसले खेलको मात्र होइन, देशको समग्र होटल तथा पर्यटन व्यवसायमा पनि सकारात्मक असर पर्छ,' उनले भने । क्यान महासचिव टंकप्रसाद पनेरुले नेपालले सहभागिताअघि उमेर परीक्षणमा कडाइ गरेको र यसमा कुनै समस्या नआउने बताए ।

'नेपाल सफल आयोजनाका लागि प्रतिबद्ध छ,' उनले भने । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर, पुल्चोक इन्जिनियरिङ मैदान र वीरेन्द्र सैनिक मैदान, भक्तपुरमा खेल हुने जानकारी उनले दिए ।

उमेरको समस्या नआउने

यसपटक एसीसीले प्रतियोगिताअघि सबै सहभागी राष्ट्रका खेलाडीको उमेर परीक्षण गरेकाले बढी उमेरको समस्या नआउने भएको छ । एसीसीका इभेन्ट एक्जुकेटिभ हरिदास केकेले पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् । यसअघि नेपालमा भएको एसीसी यू-१५ को बीचमा खेलाडीको उमेर परीक्षण गर्दा आयोजकसहित ८ राष्ट्र अयोग्य ठहरिएका थिए ।

दुई खेलाडी अनिवार्य

प्रतियोगितामा सहभागी राष्ट्रले खेलाडी छनोट गर्दा अन्तिम ११ मा आफ्नै राष्ट्रका दुई खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ । हरिदासले दिएको जानकारीअनुसार खेलअघि म्याच रेप|mीले यसका बारेमा निरीक्षण गर्नेछन् । पहिलो खेलमा नेपालविरुद्ध भिड्न लागेको कतार टिममा आफ्नो राष्ट्रका दुईमात्र खेलाडी सहभागी छन् ।

नेपाली टिम
पृथु बाँस्कोटा -कप्तान), प्रदीप ऐरी, सागर पुन, रोचक भट्ट, निश्चलसिंह चौधरी, विवेक दली, कृतेन गुरुङ, भुवन कार्की, कृष्ण कार्की, अविनाश कर्ण, आयुष राणा, अमनदीप सिंह, प्रतीक सिंह र आकाशसिंह परियार ।

प्रशिक्षक- रोय डाय, ससहायक प्रशिक्षक- मञ्जुर आलम खान ।

बुधबारको खेल
बहराइनविरुद्ध कुवेत- त्रिवि मैदान
नेपालविरुद्ध कतार- पुल्चोक मैदान
सिंगापुरविरुद्ध हङकङ- भक्तपुर मैदान

साभारः कान्तिपुर अनलाइन

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home