Monday, February 16, 2009

पोखरामा क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाइने

-ईश्वरी न्यौपाने
पोखरा, फागुन ४ - पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिस्तरको क्रिकेट मैदान बन्ने भएको छ । पोखरा रंगशालामा क्रिकेटका लागि छुट्याइएको जमिनमा नेपाल क्रिकेट संघ -क्यान) ले अन्तर्राष्ट्रियस्तरको मैदान निर्माण गर्ने योजना बनाएको हो ।
क्यान अध्यक्ष विनयराज पाण्डे र एसियाली क्रिकेट काउन्सिल विकास प्रबन्धक बुन्दला वर्णपूराले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण तत्कालै सुरु गर्ने आइबार घोषणा गरेका हुन् । अध्यक्ष पाण्डेले पिच निर्माणको सुरुवात गर्न तत्काल १० लाख रुपैयाँ दिने निर्णय भएको बताए । पोखरा रंगशालाभित्र कास्की जिल्ला क्रिकेट संघले बनाउन लागेको मैदानलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा निर्माण गरिने भएको हो । 'प्राकृतिक दृष्य र बनावट एवं पर्यटकीय पूर्वाधारको अध्ययनलेे अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पोखरा उपयुक्त देखिएकाले पिच बनाउने योजना बनाएका हौं,' क्यान अध्यक्ष पाण्डेले भने, 'दिएको रकमले काम सकेर कागजात पठाउनासाथ थप रकम पनि आउनेछ ।'सुरुमा पिच र चरणबद्ध रूपमा स्टेडियम बनाउने लक्ष्य राखेको उनले बताए । पाण्डेका अनुसार काठमाडौं र पोखरामा अन्तर्राष्ट्रियस्तरको तथा विराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवामा क्षेत्रीयस्तरको मैदान निर्माण हुनेछ । नेपालले सन् २०१५ मा विश्वकप खेल्ने लक्ष्य हासिल गर्न यी सबै ठाउँमा पिच बनेमात्र सम्भव हुने उनको भनाइ थियो ।'कीर्तिपुरको मैदानमा मात्र खेलेको भरमा विश्वकपमा जान सक्दैनौं, त्यसैले पनि मैदान बनाउन युद्धस्तरमा लाग्नुपर्छ,' पाण्डेले भने । क्यानले सबै रकम एकैपटक नभएर चरणबद्ध दिने बताउँदै जति काम हुन्छ त्यति नै बजेट थप्दै लगिने उनले बताए । एसियाली क्रिकेट काउन्सिलका विकास प्रबन्धक वर्णपूराले मध्यनेपालको पोखरा अन्य देशका खेलाडीका लागि उपयुक्त रहेको बताए । 'यहाँको प्रकृतिमा उनीहरूको जाँगर बढ्नेछ,' वर्णपूराले भने, 'स्थानीयको सक्रियतामा यो योजनाको सफलता निर्भर हुनेछ ।' खेलकुद संघले कास्की जिल्ला क्रिकेट संघलाई यसअघि नै जमिन छुट्याएर घेराबार भई जमिन सम्याउने काम भइसकेको छ । वीरेन्द्रसिंह गुरुङको अध्यक्षतामा निर्माण समिति पनि बनिसकेको छ ।

पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका विकास समिति, पर्यटन क्षेत्रका संस्था, व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारीले क्यानको योजनाले खेल पर्यटनको गन्तव्य बनाउन लक्ष्य बोकेका पोखरेलीलाई थप हौस्याएको बताएका छन् । उनीहरूले स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
साभार कान्तिपुर अनलाइन

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home