Saturday, July 26, 2008

नेपालले हङकङलाई हरायो

पारस खड्काले अर्धशतक पूरा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी ट्रफी एलिट कप प्रतियोगितामा हङकङलाई ४४ रनले पराजित गरेको छ । प्रतियोगितामा नेपालले हङकङलाई पराजित गरेको यो लगातार दोस्रो पटक हो । यसअघि सन् २००६ मा नेपालले हङकङलाई ८७ रनले पराजित गरेको थियो । त्यसअघि भने नेपालले लगातार तीनपटक हङकङसँग पराजय भोगेको थियो । मलेसियाको क्वालालम्पुरमा शुक्रबार सुरु भएको प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ रोज्यो । सेलङ्गर टर्फ क्लबमा विजयी सुरुवात गर्ने क्रममा नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाई दुई सय ४५ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो । सो योगफल तयार गर्न पारस खड्काले ८१ रनको प्रभावकारी इनिङ खेले । उनले ७२ बलमा आठ चौका र तीन छक्काको मद्दतले सो रन जोडेका थिए । मध्यक्रमका ब्याट्सम्यान खड्का जेड अब्बासको बलमा आई गुलबाट छैटौं विकेटका रूपमा समातिए । यसअघि कनिस्क चौगाइर्ं पहिलो विकेटका रूपमा डकआउट हुँदा नेपाल एक रन जोडेको अवस्थामा थियो । चौगाईं आई अहमदबाट बोल्ड भएका थिए । नेपालका लागि शरद भेषवाकरले ४८, परेश लोहनीले ४२, ज्ञानेन्द्र मल्लले २३ र महबुब आलमले २० रनको योगदान दिए । नेपालले निर्धारित ओभर पूरा गर्दा शक्ति गौचन १२ रनमा र महेश क्षेत्री दुई रनमा अविजित थिए । ७३ बलको सामना गरेका भेषवाकरले नौ चौका प्रहार गरेका थिए । बलिङको क्रममा हङकङका एम अहमद र इलियास गुलले दुई/दुई विकेट लिए । नेपालले दिएको दुई सय ४६ रनको विजयी लक्ष्य पछ्याउन आएको हङकङ निर्धारित ओभरमा नौ विकेट गुमाई दुई सय एक रनमा समेटिएको थियो । टोलीका लागि बी हुसेनले सर्वाधिक ५२ रनको योगदान दिए । हङकङलाई विजयी लक्ष्यसम्म पुग्न नदिन कप्तान विनोद दास र बसन्त रेग्मीले तीन-तीन विकेट लिएका थिए । यसैगरी, महबुब आलम र पारस खड्काले एक/एक विकेट लिए । बलिङ र ब्याटिङ दुवैमा जमेका पारस म्यान अफ द म्याच घोषित भए । दुई वर्षपछि हुने एसिया कपका लागि छनोट खेलसमेत रहेको प्रतियोगितामा हङकङमाथिको विजयसँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले शनिबार कतारविरुद्ध खेल्नेछ ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home