Saturday, May 24, 2008

नेपालको शानदार जित


आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले समूह 'ए'को पहिलो खेलमा जर्मनीमाथि सहज सात विकेटको जित हासिल गरेको हो । नेपाली टोलीले आफ्नो बलिङक्षमताकै आधारमा सो जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको जर्मनीलाई नेपाली बलरले ३९ ओभर पाँच बलमा ६९ रनमा समेटेका थिए । ७० रनको विजयी लक्ष्यलाई नेपालले १९ ओभर २ बलमा तीन विकेटको क्षतिमा भेटेको थियो । जर्मनीविरुद्ध खेल्नुअघि लगातार तीन अभ्यास खेलमा जित हासिल गरेको नेपाली टोलीलाई उपाधि दाबेदारमध्येको एक मानिएको छ । नेपालले जर्मनीसँग खेल्नुअघि अभ्यासमा बहामास, गुयन्र्से र काठमाडौंमा पाकिस्तान क्रिकेट एकेडेमीलाई पराजित गरेको थियो । युरोपेली च्याम्पियनसिप डिभिजन-२ खेलमा तेस्रो भएपछि वल्र्ड क्रिकेट लिग डिभिजन-५ मा छनोट भएको जर्मनी कुनै पनि समय नेपालको बलियो प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत भएन । नेपालको बलिङ आक्रमणका अगाडि टोलीका आसिफ शाहमात्र २२ रन बनाउन सक्षम भए । जर्मनीलाई थोरै रनमा सीमित गर्न प्रारम्भिक बलर मेहबुब आलमले २४ रन खर्चेर तीन विकेट लिए । उता, स्पिनर सन्जम रेग्मीले घातक बलिङको नमुना देखाउँदै चार रनमात्र खर्चेर तीन विकेट लिए । नेपालले १० रन जोड्दा पहिलो विकेट गुमाए पनि महेश क्षेत्री अविजित रही २३ रन जोडेपछि जित हासिल गरेको थियो । अब नेपालले शनिबार मोजाम्बिकविरुद्ध समूह चरणको दोस्रो खेल खेल्नेछ ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home