Friday, May 23, 2008

अभ्यास खेलमा नेपालको दोस्रो जित

आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत बुधबार राति भएको अभ्यास खेलमा नेपालले गुयन्र्सेलाई ७३ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा दुई सय नौ रनको योगफल तयार गरेको थियो । प्रत्युत्तरमा आएको गुयन्र्से सम्पूर्ण विकेट गुमाउँदा एक सय ३९ रनमात्र जोड्न सफल भयो । नेपालको जितमा शरद भेषवाकरको सफल ब्याटिङ र राजकुमार प्रधानको घातक बलिङले महत्त्वपूर्ण भूमिका खेल्यो । एक सय ३९ बलमा ७२ रन जोडेका भेषवाकरले मेहबुब आलम -४५) सँग एक सय तीन रनको साझेदारी गरेका थिए । उनीहरूको साझेदारीले नेपालको जितको आधार तय गरेको थियो । गुयन्र्सेको प्रभावशाली बलिङका कारण एक समय पाँच विकेटको क्षतिमा ६५ रन मात्र जोेडेको कमजोर अवस्थामा रहेको नेपाली टोलीलाई भेषवाकर र आलमले चुनौतीपूर्ण योगफलतर्फ लगेका थिए । नेपाली टोलीका लागि अविजित रहेका बसन्त रेग्मी -२०) र विनोद दास -१५) ले पनि महत्त्वपूर्ण योगदान दिए । नेपाली बलर हावी भएपछि प्रत्युत्तरमा आएको गुयन्र्से ४० रन जोड्दा चार विकेटको गुमाएको कमजोर अवस्थामा पुगेको थियो । यद्यपि, टोलीका कप्तान स्टुआर्ट प्रेभोस्टले ४१ र जेरेमी र्फथले २४ रनको योगदान दिए । बलिङमा राजकुमार प्रधानले ३६ रन खर्चेर चार विकेट लिए । यसैगरी, मेहबुब आलम र पारस खड्काले दुई/दुई विकेट तथा सन्जम रेग्मीले एक विकेट लिए । सो विजयसँगै नेपाली टोली बुधबार राति नै प्रतियोगिता आयोजनास्थल जर्सी लागेको छ । नेपालले प्रतियोगिताको पहिलो खेल शुक्रबार जर्मनीविरुद्ध खेल्नेछ । यसैगरी, नेपाल रहेको समूह 'ए'को अन्य दुई खेल पनि हुनेछ । समूह 'बी'का तीन खेल शुक्रबार हुनेछन् ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home