Monday, May 26, 2008

आलमको चमत्कार


देब्रेहाते तीव्र गतिका बलर महबुब आलमले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेका छन् । आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत आइतबार भएको मोजाम्बिकविरुद्धको खेलमा उनले असाधारण बलिङ गर्दै सम्पूर्ण १० विकेट एक्लैले लिए । महबुबको घातक बलिङपछि मोजाम्बिक जम्मा १९ रनमा समेटिएको थियो । आइसिसीको मान्यताप्राप्त कुनै पनि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबै विकेट एक्लैले लिने महबुब पहिलो बलर बनेका छन् । यसका लागि उनले सात ओभर पाँच बल बलिङ गर्दै १२ रन मात्र खर्चे । नेपालले पहिले ब्याटिङ गर्दै दुई सय ३८ रन बनाएको थियो । दुई सय १९ रनको विशाल अन्तरले नेपाल विजयी भयो । मोजाम्बिकका नौ ब्याट्सम्यान शून्य स्कोरमा पेभेलियन फर्केका थिए । राजविराजका अलराउन्डर महबुब तीनपटक ह्याटि्रकको संघारमा पुगेका थिए । सो क्रममा उनले एक मेडन राखे र एक दशमलब ५३ को इकोनोमी रेटमा सम्पूर्ण दस विकेटलाई पेभेलियनको बाटो देखाए । उनले चार नो बल फालेका थिए । सन् २००० मा यू-१९ क्रिकेट टोलीको सदस्यका रूपमा श्रीलंकाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटको थालनी गरेका आलमले आइतबार पहिलो ओभरको अन्तिम बलमा मोजाम्बिकका प्रारम्भिक ब्याट्सम्यान आइआइएम इखेरियालाई बोल्ड गरे । अर्का ब्याट्सम्यान एनजे कारिम पनि तेस्रो ओभरको पहिलो बलमै बोल्ड भए ।
आलमको अगाडि रन जोड्न सकेका मोजाम्बिकका खेलाडीमा सइद शाह (९) मात्र थिए । यद्यपि, शाहलाई पनि आलमले सातौं विकेटका रूपमा महेश क्षेत्रीको हातमा थमाएका थिए । यद्यपि, शाह आउट हुँदा १९ रनको अवस्थामा रहेको मोजाम्बिकले त्यसपछि कुनै रन जोड्न सकेन । आलमले कीर्तिमान बनाउन पाँच ब्याट्सम्यानलाई बोल्ड गरे भने चारजनालाई एलबिडब्लू धरापमा पारे । एक विकेटका लागि उनले महेश क्षेत्रीको सहारा लिएका थिए ।सन् २००० मा एसिसी ट्रफीबाट सिनियर राष्ट्रिय टोलीमा प्रवेश पाएका आलमले यसअघि सन् २००३ मा काठमाडौंमा भएको इमर्जिङ नेसन्स कपमा सर्वाधिक आठ विकेटको नेपाली कीर्तिमान बनाएका थिए । त्यसैगरी, सन् २००६ को एसिसी ट्रफीमा म्यान्मारविरुद्ध एकै इनिङमा सात विकेटसमेत लिएका थिए ।टेस्ट मान्यता पाएका मुलुकमा चामिन्दा भाषले जिम्बाबेविरुद्ध लिएको आठ विकेट नै सर्वाधिक सफल बलिङ रेकर्डका रूपमा रहेको छ । भाषले १९ रन खर्चेर सन् २००१ मा भएको एक खेलमा सो रेकर्ड राखेका थिए ।आलमले कीर्तिमान बनाएपछि खुसी भएका नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले 'व्यक्तिगत रूपमै उनलाई पुरस्कृत गर्ने' नयाँ पत्रिकालाई बताए । 'यो आश्चर्यजनक प्रदर्शन हो, नेपाली टोलीले बलिङमा मात्र होइन ब्याटिङमा पनि आफूलाई सुधारेका छन् यो प्रतियोगितामा ।' अघिल्लो दिन -शनिबार) खेलका दौरान वर्षा सुरु भएपछि खेल रद्द भई आइतबार सुरुदेखि सञ्चालन भएको थियो ।अघिल्लो दिन नेपालले मोजाम्बिकलाई ७० रनमा समेटेपछि ब्याटिङ सुरु गर्दा भारी वर्षा सुरु भएको थियो । आलमले अघिल्लो दिन भने कुनै विकेट लिएका थिएनन् ।टस जितेको मोजाम्बिकले आइतबार भने पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा दुई सय ३८ रनको योगफल तयार गरेको थियो ।सो योगफल तयार गर्न ज्ञानेन्द्र मल्लले चार चौकाको मद्दतले ७१ रन जोडेका थिए । उनले र शक्ति गौचन (३४) ले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि नेपालले चुनौतीपूर्ण योगफल तयार गरेको थियो । एक समय नेपाल ३० रन जोड्दा तीन विकेटको फितलो अवस्थामा थियो । मल्लले पारस खड्का (४४) सँग पाँचौं विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । खड्काले ५० बलमा दुई चौका र एक छक्काको मद्दतले सो रन जोडेका थिए । यसैगरी अविजित रहेका आलमले २३ रन जोडेका थिए ।

0 प्रतिक्रिया(हरू):

Newer Post Older Post Home